Share this News on Social Networking Pages

पर्वत,९ असाेज ।
बसाइँसराइका कारण गाउँ रित्तिन थालेपछि पर्वतको महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा रु. एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।

पछिल्लो समय गाउँलेहरू बसाइँ सर्ने क्रम बढ्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषणका लागि गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने अध्यक्ष भुसालले बताए । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनकाे भनाइ छ ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेर अन्यत्र गएका छन् ।