बुटवल,२८ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षालाई पार्टीको भागबण्डाबाट बाहिर निकाल्नै पर्नेमा जाेड दिएका छन् । उनलेे दलको आधारमा विश्वविद्यालयका पदाधिकारी छान्दा परिणाम राम्रो हुन नसक्ने बताए ।
शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिका ३ फर्साटिकर स्थित एक क्याम्पसको क्याम्पससभा तथा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले जतिसुकै काविल व्यक्ति भएतापनि दलिय भागवण्डाबाट आएकाले सक्षम नेतृत्व दिन नसक्ने दाबी गरेका हुन् ।
भागवण्डावाला जवाफदेही पनि हुन नसकने र काम गर्ने नैतिक तागत पनि नहुने उनको भनाइ छ ।
उच्च शिक्षाको लागि तत्काल कानून बनाउनुपर्ने भन्दै थापाले त्यसको लागि आफूहरुले काम गरिरहेको जानकारी गराए ।
उच्च शिक्षाको कानून नबन्दा ठूलो अलमल भएको भन्दै उनलेे कानून बनेपछि शिक्षामा लगानी बढाउनुपर्ने र पठन पाठनको शैली पनि सुधार गर्नुपर्नेमा जाेड दिए ।






