बुटवल,१९ भदौ ।
लुम्बिनी प्रदेश सरकारले बड्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायको बसोजास बढी रहेको लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक सुचना जारी गरी थारू समुदायकाे बाहुल्यता रहेको प्रदेशका छ जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
थारू समुदायमा महत्वका साथ मनाइने बड्का अट्वारी पर्व यस वर्ष भदौ २३ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने साँस्कृतिक मान्यता छ ।
थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।
आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । आइतबारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेष गरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ ।