भारत,१२ भदौ ।
“गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण” बिषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि भारतको बिहार मा सुरु भएको छ ।

भारतको बिहार नालन्दास्थित नव-नालन्द महाविहारमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनकाे बिहारका गभर्नर राजेन्द्र अर्लेकरल, इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसनका अध्यक्ष समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा सविधानसभा सदस्य डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) र शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव/मुख्य भिक्षु उगेन नामग्यालले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिहारका गभर्नर राजेन्द्र अर्लेकरलले दोस्रो बुद्धको रूपमा सम्मानित गुरु पद्मसम्भवको जीवन, शिक्षा र स्थायी प्रभावको बारे चर्चा गरे । गुरु पद्मसंभव, जसलाई गुरु रिन्पोछे पनि भनिने भन्दै उनलेे हिमालय क्षेत्रका एक पौराणिक व्यक्तित्व भएकाले तिब्बत, नेपाल, भुटान र भारतको हिमालय राज्यहरूमा बुद्ध धम्म फैलाउने श्रेय उनलाई जाने बताए ।

बुद्धिस्ट कन्फेडेरेसनका अध्यक्ष समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गुरु पद्मसंभवको दर्शन अभ्यास सहित योगदान बारे प्रकास पारे ।

गुरु पद्मसंभवको जीवन र शिक्षाले तिब्बती बौद्ध धर्मलाई गहिरो रूपमा आकार दिएको भन्दै उनलेे गुरु पद्मसंभवले हिमालय क्षेत्र र बाहिरका अनगिन्ती अभ्यासकर्ताहरूलाई प्रेरित गरेको बताए । ८ औं शताब्दीमा, तिब्बतको हिमालमा बौद्ध धर्मको प्रचार गराउन तिब्बती राजा ट्रिसोङ डेट्सेनले उनलाई निमन्त्रणा दिएको र तिब्बतमा धर्मराजा त्रिसोङ ड्युसेन र मठाधीश शान्दरक्षित सँग मिलेर बौद्ध परम्पराको स्थापना गरेको समेत उनलेे बताए ।

तिब्बतको पहिलो बौद्ध गुम्बा, विहार र मठ स्थापना तिब्बती इतिहासको पाठ्यक्रम समेत परिवर्तन गरेर वज्रयान बौद्ध धर्मको आफ्नो तपस्या र निपुर्णताकाे माध्यमबाट स्थानीय देवताहरू र आत्माहरूलाई धर्मको रक्षकहरूमा रूपान्तरण गरेर, हिमाली क्षेत्रमा बौद्ध धर्म फैलाएको बौद्ध ग्रन्थमा उल्लेख रहेको जानकारी गराए ।

त्यस्तै कार्यक्रममा शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव/मुख्य भिक्षु उगेन नामग्यालले पद्मसंभवको दर्शन बारे पर्याप्त उजागर गर्ने प्रयास गरेका थिए ।

कार्यक्रममा इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसनका महानिर्देशक अभिजित हलदरले नयाँ दिल्लीद्वारा नव नालन्द महाविहारको सहकार्यमा आयोजना गरिएको यस सम्मेलनले गुरु पद्मसंभवको जीवन र विरासतमा गहन अन्तर्दृष्टि प्रदान गर्ने विश्वास ब्यक्त गरे ।

सम्मेलनले श्रीलंका, भुटान, नेपाल र भारतका विज्ञहरूलाई गुरु रिन्पोछेको जीवन र योगदानका विभिन्न पक्षहरूका बारेमा छलफल गर्न एउटा मञ्च प्रदान गरेकाे छ ।

सम्मेलनमा सहभागीहरूले गुरु पद्मसंभवको जीवनी अन्तर्दृष्टि, वज्रयान बौद्ध धर्मका शिक्षाहरू र उनको सांस्कृतिक र कलात्मक योगदानहरू सहित विषयवस्तुहरूको दायरा अन्वेषण गर्नेछन् भने तिब्बत,नेपाल, भुटान, पाकिस्तान र भारतमा उनको व्यापक यात्राको पनि जाँच गर्ने आयोजककाे अपेक्षा छ ।

बुद्ध धर्मका मूल सिद्धान्तहरूलाई स्थानीय संस्कृति र संवेदनशिलतामा अनुकूलन गर्ने गुरु पद्मसम्भवको क्षमतालाई हाइलाइट गर्ने र स्थानीय प्रतीकहरू र अनुष्ठानहरू प्रयोग गरी भगवान बुद्धका शिक्षाहरू विभिन्न समुदाय सम्म पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा झन्डै दुई दर्जनभन्दा बढी देशका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएका छन् ।