पाल्पा,११ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा पूजा आराधना गरेका छन् ।
पाल्पाको तिहासिक रणउजीरेश्वरी भगवती रथ यात्रा अवलोकन गर्न पाल्पा आएका राष्ट्रपति पौडेलले मंगलबार बिहान भगवती मन्दिरमा पूजा आराधना गरेका हुन् । पाल्पा आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य,तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेशलाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
लुम्बिनी प्रदेश सरकारले भगवती रथ यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।
नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सवस्वरूप रणउजीरेश्वरी भगवतीको रथ यात्रा निकाल्ने प्रचलन रहिआएको छ ।
तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । पाल्पा गाैडामा तैनाथ कर्णेल उजीर सिंह थापाले विसं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिदै आइएको छ ।






