पाल्पा,११ भदौ ।
पाल्पाकाे तानसेनमा आज ऐतिहासिक तथा धार्मिक महत्त्वकाे रणउजीरेश्वरी भगवती रथयात्रा निकालिदैछ ।
जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलिपल्ट पाल्पाको तानसेनमा भगवती रथयात्रा निकालिने गरिएको हो ।
रथयात्राकाे अवलोकन गर्न राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति रामचन्द्र पाैडेल पाल्पा आउने कार्यक्रम तय भएको छ ।
२०५ औँ विजयोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार आज नै अमननारायणको रथ पनि निकालिने छ । यसवर्ष भगवती र अमननारायणको रथ निकाल्न तीथिले एकैदिन परेकाले आजै अमननारायणको रथ निकालिने भएको हो ।
प्रजिअ काफ्लेले भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रममा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको बताए ।
तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथयात्रा हुने गरेको छ ।
नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।
तत्कालीन ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिँदै आएको छ ।
तत्कालीन समयमा नेपाली फौजले चलाएको उक्त विजय जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ ।
कर्णेल उजीर सिंह थापाले विसं १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आएको छ ।
भगवती रथयात्राकाे अवसरमा लुम्बिनी प्रदेश सरकारले आज पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।






