जनैकाे ९९ प्रतिशत आयात प्रतिस्थापन भएको दाबी
प्रकाश खनाल
बुटवल,३ भदौ ।
पछिल्लो समय नेपाल जनैमा आत्मनिर्भर बन्दै गएको छ ।
जनैमा समेत बिदेशीकाे भर पर्नुपर्ने अवस्थाबाट पछिल्लो समय नेपाल जनैमा आत्मनिर्भर हुदै गएको हो ।

नेपालमै पहिलोपटक बुटवलमा ब्यवसायीक रूपमा जनै उद्योग सञ्चालन भएपछि नेपाल बिदेशी जनैकाे आयात प्रतिस्थापन हुनुका साथै नेपाल जनैमा आत्मनिर्भर बन्दै गएको हो ।

बिगतमा ९९ प्रतिशत भारतीय जनै प्रयोग हुदै आएकोमा अहिले त्यो प्रतिशत घटेर १५/२० प्रतिशतमा झरेको राधा धागो उद्योग बुटवलका सञ्चालक आचार्य बुद्धि प्रसाद शर्मा पाण्डेले बताए ।

२०५८ बाट उत्पादन सुरु गरेको साे उद्योगले २०६१ सालबाट ब्यवसायीक उत्पादन सुरु गरेपछि त्यसको सिकाे गर्दै अरूले पनि जनै उद्योग सञ्चालन गर्न थालेको उनलेे बताए ।

बुटवलको राममन्दिर लाइनमा सञ्चालन भएको राधा धागो उद्योगले रक्षाबन्धन,लाखबत्ती,अनन्त डाेराे,बत्ती कात्ने धागो,तथा धागोका बिविध सामग्रीकाे उत्पादन गर्दै आएको छ ।

‌उद्योगले जनैकाे आयात प्रतिस्थापन गर्नुका साथै करिब तीनसय जनाले राेजगारी पाएकाे आचार्य पाण्डेले बताए ।

आम्दानी भन्दा पनि आफुले उत्पादन गरेका जनै तथा बत्ती देशैभर पुर्‍याउन पाउँदा खुसी लागेकाे उनको भनाइ छ ।

जनै बनाउने शास्त्रीय विधि रहेको भन्दै उनलेे जुन तरिकाले सिका पार्नुपर्ने हो त्यसाे नगरी गाठो मात्रै पारेर पनि जनै बिक्रीवितरण गर्ने गरेको पाइएकोले राम्रोसँग बुझेर मात्रै जनै खरिद गर्न आग्रह गरे ।

जनैकाे आयात प्रतिस्थापन हुन थालेपछि रूपन्देही उद्योग संघ,नेपाल सरकार लगायत विभिन्न ब्यवसायीक संघ संस्थाअरूले पनि पुरस्कृत गरेको उनलेे बताए ।
कुनै जात जाती वा समुदायले जनै लगाउनु हुदैन भन्ने शास्त्रमा नभएको भन्दै उनलेे महिलाहरूले समेत बिवाह पुर्व जनै लगाउन हुने दाबी गरे ।

उनलेे भारतमा आर्य महिलाहरूले पनि जनै लगाउने गरेको बताए ।

पुरूषहरूकाे जस्तै महिलाको पनि ब्रतबन्ध गर्न मिल्ने उनको भनाइ छ ।

उद्योगका बजार ब्यवस्थापक समेत रहेका सञ्चालक पाण्डेका छाेरा झंकार पाण्डेले नेपालकै पहिलो जनै उद्योग भएकोले बजारको त्यति समस्या नभएको बताए ।

आफ्नो उद्योगबाट उत्पादीत जनै,रक्षाबन्धन,लाखबत्ति लगायतका सामग्री नेपाल अधिराव्यभर जाने गरेको उनलेे जानकारी दिए ।