काठमाडौं,३ भदौ ।
नेताहरूको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई २५ हजार धरौटीमा रिहा भएका हुन् ।

उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए । खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको काम गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए ।

खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ बयान दिएका छन् । आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडाले बयानमा भनेका छन्, ‘फेसबुक स्ट्याटस आवेशमा लेखेको हुँ, साथीहरूले त्यस्तो गर्नु हुँदैन भनेपछि मलाई गलत रहेछ भन्ने अनुभूति भएको थियो ।’