राेल्पा,२ भदौ ।
रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृत्युु हुनेमा रोल्पा नगरपालिका-१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगर रहेकी छन् ।
रोल्पा नगरपालिका-२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए ।
शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको डिएसपी लामाले बताए ।
अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






