Share this News on Social Networking Pages

बुटवल,१ भदौ ।
कक्षा ११-१२ दिवा सत्रमा संचालन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ । इश्वर प्रसाद पोख्रेलले दायर गरेको रिटमा उच्च अदालत, तुल्सीपुर, नेपालगन्ज इजलासका न्यायाधीस पुनम सिङ चन्दले कोहलपुर नगरपालिकालाई अन्तरिम आदेश दिएका हुन् ।

१५ दिनभित्र अदालतमा लिखित जवाफ माग गर्दै अदालतले विद्यालयमा ११-१२ को कक्षा विहानी शत्रमा संचालन गर्न नपाउने सम्बन्धमा जारि भएका पत्र र निर्देशन अर्को आदेश नहुँदासम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आदेशमा भनिएको छ, “प्रचलित शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ ले विद्यालयलाई बिहानी शत्र संचालनमा कुनै रोक नलगाएको अवस्थामा विद्यालयले विद्यार्थी तथा अभिभावकको चाहाना, विद्यार्थी भर्नाको अवस्था, विद्यालयको भौतिक संरचना र शिक्षकहरुको उपलब्धता लगायत विधार्थीहरुको सर्वोत्तम हित समेतको आधारमा कक्षा ११-१२ को बिहानी सत्र संचालनमा रोक लगाउदा विद्यार्थीहरुलाई मर्का पर्न जाने र विद्यालयलाई अपुरणीय क्षती हुने भन्दै सुविधा सन्तुलनको दृष्टीले प्रस्तुत रिट-निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यथास्थितिमा राख्नु र कक्षा ११- १२ को विहानी सत्र संचालन गर्ने कार्यमा कुनै पनि किसिमको हस्तक्षेप नगर्नु नगराउनु ।”

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा कै रूपमा मानिएपछि कोहलपुर नगरपालिकासहित देशका कतिपय स्थानीय सरकारले कक्षा १-१० सरह कक्षा ११ र १२ पनि दिवा सत्रमा संचालन गर्न निर्देशन दिएका थिए । स्थानीय सरकारको उक्त निर्णयले विद्यार्थीले सेवा रोज्न पाउने हक खोसिएको भन्दै विद्यालय संचालकहरूले विरोध जनाउंदै आएका छन् ।