नवलपरासी,२९ साउन ।
संस्कृत रामायणका रचनाकार महर्षि वाल्मीकिको आश्रम जान नेपाली भूमिबाटै पदमार्ग बनेपछि श्रद्धालुलाई सहज भएको छ ।
पदमार्गकाे त्रिवेणी गजेन्द्र माेक्ष दिव्यधाम विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले सोमबार नदी पूजन गरी जलघडासहित रिबन काटेर समुद्घाटन गरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जकाे दक्षिण पश्चिम किनाराबाट लवकुश झाेलुङ्गेपुललाई जाेडेर खोलिएको पदमार्ग बन्नु पूर्व श्रद्धालुहरूलाई वाल्मीकि आश्रम पुग्न निकै कठिनाइ हुने गरेको थियो ।
यसअघि श्रदालुहरू नारायणी नदीमा ढुङ्गा तरेर प्राचीन गाेरेटाे बाटाे हुँदै या भारतीउ भूमि प्रयाेग गरी आश्रम पुग्ने गर्दथे ।
पदमार्गसंगै डुङ्गाकाे विकल्पमा नारायणी नदीमाथि झन्डै १ दशक लगाएर बनेको करिब ६ सय मिटर लामाे झाेलुङ्गे पुल पनि सञ्चालनमा आएको छ ।
नेपाली भूमिबाटै वाल्मीकि आश्रम पुग्न भनी बनाइएको उक्त झाेलुङ्गे पुल राष्ट्रिय निकुञ्ज तर्फको भागमा पदमार्ग बन्न नसक्दा निर्माण सम्पन्न भएर पनि करिब २ वर्ष सञ्चालनमा आउन सकेको थिएन ।
त्रिवेणी धाम स्थित चितवन राष्ट्रिय निकुञ्जसंग जाेडिने उक्त पुलकाे मुखैमा गण्डकी सरकारबाट विनियोजित १५ लाख रूपैयाँ बजेटबाट सेनाकाे सुरक्षा पोस्ट निर्माण भएको धामका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताए ।
चितवन जिल्लाकाे माडी नगरपालिका वडा नम्बर १ मा पर्ने वाल्मीकि आश्रम पूर्वी नवलपरासीको प्रसिद्ध त्रिवेणी धामबाट करिब ३ किलोमिटर दक्षिण पूर्वमा पर्दछ ।
स्थानीयहरूका अनुसार चितवनबाट वाल्मीकि आश्रम सम्मको पहुँच नहुँदा बाग्मतीको भूगोलमा रहेर पनि याे क्षेत्र विकास र संरक्षणमा पछि परेको छ ।
पौराणिक कथामा वर्णित,नेपाल भूमि एवं धार्मिक धराेहर वाल्मीकि आश्रम प्रति राज्य यसकाे विकासमा बेखवर भई रहँदा छिमेकी भारत सरकालले यससंग नजिकैकाे जटाशंकर सहित समग्र वाल्मीकि नगरलाई बृहत्तर योजना सहित अर्वाैकाे बजेट खन्याएको छ ।
बिहार र उत्तर प्रदेशको ठूलाे आबादीका धार्मिक पर्यटकलाई आकर्षित गर्न भारत सरकारले महत्वाकांक्षी योजना बनाई रहँदा नेपालले पनि यसै भूमिमा अवस्थित वाल्मीकि आश्रमसहित समग्र त्रिवेणी धामको विकासमा राज्य उदार बन्नु पर्ने स्थानीयहरूकाे भनाइ छ ।
पछिल्लो पटक यहीँको विनयी त्रिवेणी गाउँपालिका र त्रिवेणी धामस्थित वडा नं.६ काे पहलमा उपभोक्ता समिति बनाई सरसापटीबाट आर्थिक काेषकाे जाेहाे तथा जन श्रमदान समेत गरी करिब १ महिना लगाएर पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग निर्माण पछि त्रिवेणी धाम विकास समितिले आयाेजना गरेको वाल्मीकि आश्रम पदयात्रामा गण्डकी प्रदेश सभा सदस्य एव पूर्व मन्त्री राेशन बहादुर गाहा,अर्का सांसद लक्ष्मण पाण्डे,जिसस प्रमुख बाबुराम विश्वकर्मा,काँग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेसहित जनप्रतिनिधिहरूकाे टाेली सहभागी भएको थियो ।
सोही क्रममा स्थानीय गजेन्द्र माेक्ष्य दिव्यधाम गुरूकुल आश्रमका वटुकहरू,धार्मिक अभियन्ता,मठाधिस,पीठाधिस, उच्च पदस्थ सरकारी कर्मचारी,सुरक्षाकर्मी, पत्रकार तथा नेपाल तथा भारतका गरी ठूलाे संख्यामा श्रद्धालुहरूले पदयात्रा गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम गिरीले त्रिवेणीका विभिन्न धार्मिक क्षेत्र जस्तै पदमार्गले वाल्मीकि आश्रम पनि विनयी त्रिवेणीकाे धार्मिक पर्यटनसँग सहज रूपले जोडिएको बताए ।
पूर्वी नवलपरासी क्षेत्र नं.२ का पूर्व संघीय सांसद तिलक महतकाे कथनमा त्रिवेणीधाम सहित भारतसंग जोडिएको गण्डकी प्रदेशकै एक मात्र दक्षिणी पहुँचमार्ग दुम्किबास बहुवन प्राचीन सडक सञ्चालनमा ल्याउन सरकार चुक्नु नहुने बताए ।






