बुटवल,२९ साउन ।
बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि निर्मम हत्या, हिंसा तथा मठ–मन्दिरमा तोडफोड भइरहेको भएको भन्दै मंगलबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन भएको छ ।

विश्व हिन्दू परिषद् नेपाल, रुपन्देही र सनातनी युवा परिवार, रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको मिलनचोकमा विरोध प्रदर्शन भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सम्पूर्ण हिन्दू एकजुट भएर बंगलादेशमा भएको निर्मम हत्या हिंसाको विरोध गर्नुपर्ने बताए । बंगलादेशका अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेको निरन्तर हिंसा र अत्याचारको कडा निन्दा गर्दै उनिहरूले तत्काल हत्या हिंसा बन्द गर्न माग गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता (सि.के.) ले बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि भएको हत्या हिंसाको जति विरोध गरे पनि कमै हुने बताए । उनले नेपालमा सम्पूर्ण धर्मावलम्बीहरु मिलेर बसेको कुरा बंगलादेशका शासकले सिक्नुपर्ने बताए ।

कार्यक्रममा समाजसेवी महेन्द्र यादव, ब्राह्मण महासंघ नेपालका केन्द्रीय अध्यक्ष शम्भुनाथ उपाध्याय, समाजसेवी अजय कुमार गुप्ता, रवि कुमार रौनियार, महेन्द्र गुप्ता (प्रशान्त), संजय बजिमय लगायतले बोलेका थिए ।

बिराेध प्रदर्शनसँगै बंगलादेशमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा श्रद्धाञ्जली सभा गर्नुका साथै प्रज्जवलन गरिएको विश्व हिन्दू परिषद् नेपाल, रुपन्देहीका अध्यक्ष गोपाल उपाध्यायले जानकारी दिए ।
उनले हिन्दू धर्मको रक्षाका लागि अब पार्टी, जातजाति नभनी सम्पूर्ण हिन्दूहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रदर्शनमा सहभागीहरुले बंगलादेशमा हिन्दूमाथिको दमन बन्द गर, हिन्दू धर्मको रक्षा गरौं, शासन व्यवस्था जुनसुकै होस्, नेपाल हिन्दू राष्ट्र होस् लगायतका नारा लगाएकन थिए ।