काठमाडौँ,२८ साउन ।
साउनको अन्तिम साेमबार आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

काठमाडौँको पशुपतिनाथ मन्दिर,रूपन्देहीको पर्राेहा बाेलबमधाम, मुक्तिनाथ धाम,पाल्पाको सिद्वबाबा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालय मन्दिरहरूमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर,डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट,रूपन्देहीको पर्राेहा बाेलबम धाम,मुक्तिनाथ धाम,पाल्पाको सिद्वबाबा, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।