काठमाडौँ,२४ साउन ।
चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ अब नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउनेछन् ।

नयाँ कार्यक्रमका लागि तीनवर्षे जनरल नर्सिङ पाठ्यक्रम स्वीकृत गरिएको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बताए ।

हालसम्म एसईई उत्तीर्ण विद्यार्थीले पीसीएल नर्सिङ, प्रमाणपत्र मिड्वाइफेरि तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीले स्नातक तहमा बीएस्सी, बीएनएस नर्सिङ र बीएस्सी मिड्वाइफेरि पढ्न पाउने व्यवस्था छ ।

जनरल नर्सिङ यी कोर्सभन्दा फरक तरिकाबाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । प्रि–विश्वविद्यालय कोर्सका रूपमा जनरल नर्सिङको पठनपाठन गराउने तयारी गरेको डा. झाले जनाए । अहिले सञ्चालित पीसीएल, बीएस्सी, बीएनएसलगायत कार्यक्रम पनि सञ्चालनमा रहने उनले बताए ।
अन्य देशको पनि अभ्यासमा रहेको जनरल नर्सिङ अध्यापन गराउन कोर्स स्वीकृत भएको आयाेगले जनाएको छ । यो विषय पढ्न विद्यार्थी विदेश जाने गरेका छन् । शिक्षा मन्त्रालयबाट विश्वविद्यालयले सम्बन्धनलगायत प्रक्रिया अघि बढाएर उक्त कोर्स पढाउन सक्ने आयोगले जनाएको छ ।

छिमेकीलगायत अधिकांश देशमा कक्षा १२ पछि मात्रै नर्सिङ पढाउने व्यवस्था रहेकाले त्यहीअनुसार गर्न विज्ञहरूले सुझाउँदै आएका थिए । आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसीको संयोजकत्वमा गठन गरेको नर्सिङसम्बन्धी कार्यदलले पनि कक्षा १२ पछि मात्रै नर्सिङ पठनपाठन व्यवस्था गर्न उपयुक्त हुने सिफारिस गरेको थियो । कक्षा १२ पूरा गरेपछि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न विज्ञ सम्मिलित कार्यदलले पनि सुझाएको थियो ।

उक्त कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन भएको ५ वर्षपछि कक्षा १० पछि पढाइ हुने पीसीएल (प्रमाणपत्र तह) नर्सिङ कार्यक्रम ‘फेज आउट’ गर्नुपर्ने कार्यदलको निष्कर्ष छ । चिकित्सा शिक्षा ऐन, २०७५ ले प्रमाणपत्रमुनिका अनमि, सीएमएलगायत स्वास्थ्यसम्बन्धी कार्यक्रम ‘फेज आउट’ गरिसकेको छ ।

ऐनमा नर्सिङ पठनपाठन गराउन आफ्नै एक सय बेडको अस्पताल चाहिने व्यवस्थापछि अधिकांश पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनमा रहेका कलेजहरू बन्द भएका छन् । सिट संख्याअनुसार भर्ना हुनुपर्दा धेरै विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको सीटीईभीटीले जनाएको छ । कार्यदलले जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पनि एक सय बेडको अस्पताल आवश्यक हुने मापदण्ड तोकेको छ ।

पीसीएल नर्सिङमा सीटीईभीटीसँग २ हजार ८० सिट छ । तर यस वर्ष करिब १८ हजार विद्यार्थीले आवेदन दिएका छन् । कार्यदलले पीसीएल नर्सिङमा विद्यार्थीको ठूलो चाप देखिएकाले नर्सिङ शिक्षण नभएका एक सय बेड वा सोभन्दा माथिका सरकारी अस्पतालमा पनि पढाइ गर्न सुझाव दिएको छ ।

नर्सिङको उच्च शिक्षातर्फ पनि अवस्था उस्तै छ । आर्थिक वर्ष २०८०/०८१ मा बीएस्सी नर्सिङका लागि ८ हजार विद्यार्थीले आवेदन दिएका थिए । ४ हजार विद्यार्थीले मात्रै मेरिटका आधारमा भर्ना हुने मौका पाए । तर सिट संख्या १ हजार ७ सय २० मात्रै भएकाले सबै विद्यार्थीले भर्ना पाउन सकेनन् । जनरल नर्सिङ कार्यक्रम सुरु भए पीसीएल र स्नातक तहमा भर्ना नपाएका विद्यार्थीले समेत मौका पाउने आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जनाए । देशभर अनमीसहित १ लाख १६ हजार नर्सहरू रहेको काउन्सिलको तथ्यांक छ ।

कक्षा १२ पछि जनरल नर्सिङ पठनपाठन गराउँदा विद्यार्थीमा सामाजिक र भावनात्मक विकास भइसकेको हुने र चिकित्सकीय त्रुटिहरूमा कमी ल्याउन सहयोग पुग्ने विज्ञहरूले दाबी गरेका छन् ।

हाल तीनवर्षे पीसीएल नर्सिङ ५२ शिक्षण संस्थामा २ हजार ८० सिट, प्रमाणपत्र मिड्वाइफेरि दुई शिक्षण संस्थामा ६०, बीएस्सी नर्सिङ ६३ कलेजका १ हजार ७ सय २०, बीएस्सी मिड्वाइफेरि एउटा कलेजमा २०, बीएनएस ३९ शिक्षण संस्थामा १ हजार १ सय २०, बीएम ५ कलेजमा १ सय ३० र स्नातकोत्तर नर्सिङ १३ कलेजका २ सय ५४ सिटमा अध्यापन हुँदै आएको छ । प्रतिवर्ष देशभित्र उत्पादन हुने जनशक्ति, विदेशबाट भित्रने र देशबाट बाहिरिने जनशक्तिको विवरण यकिन नहुँदा कुल जनशक्तिको अवस्थाबारे तथ्यांक नभएको नर्सिङ काउन्सिलले जनाएको छ ।