एजेन्सी,११ साउन ।
एसीसी महिला टी-२० एशिया कप क्रिकेटमा भारतीय महिला क्रिकेट टोली फाइनल प्रवेश गरेको छ ।

शुक्रवार श्रीलंकाको रंगिरी दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले पराजित गर्दै भारत नवौँपटक फाइनलमा पुगेको हो ।

जितका लागि बंगलादेशले दिएको ८१ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ११औँ ओभरमा पूरा गर्‍यो ।

भारतका लागि स्मृति मन्धनाले अर्धशतसकीय पारी खेल्दै ३९ बलमा ९ चौका र १ छक्का हान्दै ५५ रन र शेफाली वर्माले २६ रन बनाइन्। दुवै जना अविजित रहे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८० रनको सामान्य स्कोर बनाएको थियो ।

उसका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन र स्वर्ण अख्तरले १९ रन बनाएबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशलाई सामान्य स्कोरमा आउट गर्न भारतीय बलर राधा यादव र रेणुका सिंहले धारिलो बलिङ गर्दै आपसमा ३/३ विकेट बाँडे ।

दोस्रो सेमिफाइनलमा आजै पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको फाइनल खेल आइतवार हुनेछ ।