काठमाडौँ,५ साउन ।
माल्दिभ्समा भइरहेको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।
माल्दिभ्सलाई नेपालले २५–१६, २५–९, २५–१० को सोझो सेटमा जित निकालेको हो ।
यसअघि नेपाली टोली लगातार दुई खेलमा पराजित भएको थियो । माल्दिभ्सलाई हराएपछि चार टोलीसम्मिलित च्याम्पियनसिपमा २ अंकसहित नेपाल तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अंकविहीन छ ।
उपाधि दाबेदारको छवि बोकेर माल्दिभ्स पुगेको नेपाल श्रीलंकासँग ३–१ र किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।
अब शनिबारै हुने किर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्दी तय हुनेछ ।
किर्गिस्तान र श्रीलंका दुवैले समान दुई खेल जित्दै ४ अंक जोडेका छन् । यी दुईबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्नेछ । सेमिफाइनल सोमबार र फाइनल मंगलबार हुनेछ ।





