काठमाडौ,५ साउन ।
माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परिक्षणमा गम्भीर लापरबाही भएको पाइएको छ ।
गत १३ असारमा सार्वजनिक भएको एसईईकाे नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएपछि उत्तरपुस्तिका परिक्षणमा गम्भीर लापरबाही भएको पाइएको हो ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए ।
तर पुनर्याेग गर्दा थप थप ९४ जनाको ४ जीपीए आएकाे छ ।
परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको कार्यालय स्रोतले जानकारी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको र विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा चढाउने (इन्ट्री गर्ने) क्रममा कमजोरी भएको हुनसक्ने प्रतिक्रिया दिए ।
कपी इक्जामिन सही ढंगले भएको तर नम्बर कम्प्युटरमा इन्ट्री गर्ने क्रममा कमजोरी भएको परीक्षा नियन्त्रकले आफुलाई जानकारी गराएको उनको भनाइ छ ।
उनले भने, ‘६८ अंकलाई ०८ चढाइएको, ७७ लाई ११ चढाइएको पाइएको भन्ने छ अंग्रेजी अंकमा नबुझेर त्यसरी गल्ती भएको हो कि भन्ने बुझिन्छ अक्षरमा लेखिएकोलाई ध्यान नदिएको पाइयो ।’ कम्प्युटरमा अंक टाइप गर्ने प्राविधिकको कमजोरीले पुनर्योगको नतिजामा फरक आइरहेको प्रवक्ता दाहालको भनाइ छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको छाता संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) का अध्यक्ष सुदामप्रसाद गौतमले पुनर्योगको नतिजाले परीक्षा प्रणाली कमजोर छ भन्ने देखाएको बताए ।
पुनर्योगको नतिजालाई स्वभाविक रुपमा लिन नसकिने भन्दै उनलेे परीक्षा बोर्डले यसको समीक्षा गर्नुपर्ने उनले बताए । अहिलेको नतिजालाई लिएर परीक्षण प्रणालीमाथि शंका बढेकाले अर्को वर्ष पुनर्योगको लागि आवेदन दिनेको संख्या झन् बढ्ने उनले बताए ।
१३ असारमा सार्वजनिक एसईईको नतिजा अनुसार चार लाख ६४ हजार ७८५ जनाले एसईई दिएकामा दुई लाख ४२ हजार ३१३ जना ११ कक्षा पढ्न पाउने भएका थिए । उनीहरुमध्ये १९ हजार ६०० जनाले पुनर्योगको निवेदन दिएका थिए ।
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक र आन्तरिक परीक्षाको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ ।