बुटवल,४ साउन ।
लियो क्लब अफ बुटवल सिद्धबाबाले शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल स्थित नेपाल नियमित रक्तदाता समाजको भवनमा आयाेजित रक्तदानमा ४५ युनिट रगत संकलन भएको क्लबले जनाएको छ ।
नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रक्त दातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सिलवालले सक्रिय रक्तदाताको रूपमा रहेका युवावर्ग रोजगार तथा अध्ययनका लागि बिदेश जान थालेपछि हिजोआज देशैभर रगतको अभाव हुन थालेको बताए । यस्तो अवस्थामा यहीँ भएका युवाहरूले रगत संकलन गर्ने काममा आफ्नो जिम्मेवारी बहन गरेकाेमा खुसी लागेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको जानकारी गराए ।
आकस्मिक दुर्घटना,डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने बताउँदै उनलेे रुपन्देहीमा नेपालभर बाट रगत लिन आउने हुँदा पनि रगत सधै अभाव देखिने बताए ।
लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष प्रणेश पौडयालले विगत लामोसमयदेखी क्लबले रक्तदानको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संयोजक निरोश मुडभरिले जानकारी दिए ।
जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको आयोजनामा रक्तदान गरिएको क्लबले जनाएको छ ।






