बुटवल,२२ साउन ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सरकारले दल र नागरिक समाजसँग संवाद भन्दा जंगी समाधान खोज्ने दिशामा जाँदा दुर्घटना निम्तिन सक्ने औंल्याउँदै नागरिक समाधान खोज्न आग्रह गरेका छन् ।

शुक्रबार मानवअधिकार तथा शान्ति समाज रूपन्देही शाखाद्वारा बुटवलमा आयोजित नागरिक संवाद कार्यक्रममा पहाडीलेे उक्त कुरा बताएका हुन् ।

२३ र २४ भदौको घटनाका दोषीलाई कारबाही नभए मुलुकमा दिगो शान्ति कायम नहुने भन्दै पहाडीले भदौ २३ र २४ को घटनाको छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

बालेन शाह नेतृत्वको सरकारले १०० बुँदे कार्यसूचीमा सात दिनभित्र २३ र २४ भदौको घटनाको छानबिन गर्न समिति गठन गर्ने भने पनि चार महिनासम्म गठन नगर्नु विडम्बना भएको उनकाे भनाइ थियो ।

‘जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन र दोषीलाई कारबाही हुनुपर्ने माग तत्कालीन सत्तारुढ र प्रतिपक्षी दलहरूले गर्दै आएका छन् । यदि त्यो नहुने हो भने त्यस्तो घटना फेरि दोहोरिन सक्छ,’ पहाडीले भने, ‘सरकारले सात दिनभित्र छानबिन समिति गठन गर्ने भने पनि चार महिनासम्म गठन नगर्दा थुप्रै प्रश्न र आशंकाहरू उठेका छन् ।’

पहाडीले सरकारका गतिविधिबाट आम नागरिक, उद्योगी व्यवसायी सन्तुष्ट हुन नसकेको औंल्याउँदै पहाडीले सरकारको अपरिपक्व परराष्ट्र व्यवहारले छिमेकी देशहरू चीन र भारत दुवै संशयमा रहेको बताए ।

सरकारले उद्योगी व्यवसायीलाई बिना प्रमाण धरपकड गरेर आतंकित बनाउने काम गरेको उल्लेख गर्दै पहाडीले यस्ता गतिविधि रोक्न सुझाव दिए ।