एजेन्सी,१ साउन ।
भारत जम्मू कश्मीरको डोडा जिल्लामा सुरक्षाकर्मी र आतङ्कवादी समूहबीच भिडन्त भएको छ । भारतीय सेनाले डोडाको जङ्गलमा खोजी अभियान चलाइरहेको र गएराति झडपको घटना भएको हो ।

अभियानकैक्रममा आतङ्कवादी समूहले चलाएको गोली लागेर सेनाका एक क्याप्टेनसहित चार सैनिक र एक जना प्रहरीको ज्यान गएको सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

झडपमा घाइते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । घटनाको कश्मीर टाइगर्स नामक सङ्गठनले जिम्मेवारी लिएको छ । डोडा जिल्लाको जङ्गल क्षेत्रमा अहिले पनि सेनाले हेलिकप्टरबाट खोजी अभियान चलाइरहेको जनाइएको छ ।