काठमाडौं,२७ असार ।
इङल्याण्ड युरो कपको फाइनलमा पुगेको छ । युरो कपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औँ मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्‍याएका हुन् । यस अघि खेलको सातौँ मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । यस अघि २०२० मा सम्पन्न युरो कपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो । अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ । फाइनल खेल आइतबार राति हुने छ ।