काठमाडौं,२६ असार ।
फ्रान्सलाई २-१ ले हराउँदै स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ ।

बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो ।

फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन । फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे ।

सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो । फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए ।

खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भने खेलको २५ औं मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि फ्रान्सलाई रोक्दै स्पेन फाइनल पुगेको हो ।

स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलको विजेतासँगै फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।