काठमाडौँ,२५ असार ।
नेपाली महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा श्रीलंकासँग पराजित भएको छ । मंगलबार कोलम्बोमा सरे भिलेजमा श्रीलंका महिला डेभलपमेन्ट टोलीले नेपाली राष्ट्रिय महिला टोलीलाई ३२ रनले पराजित गरेको छ ।
नेपालले टस जितेपछि ब्याटिङमा आएको श्रीलंका डेभलपमेन्ट टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १९ रन बनायो । आई दुलानीले श्रीलंकाबाट सर्वाधिक २८ रन बनाइन् । उनले ४० बल खेल्दै ३ चौका प्रहार गरिन् । एन नुथ्यानगानाले २६, एस सन्दीपानी र एच करुणारत्नेले समान १६ तथा पी वाथसालाले १५ रन बनाए ।
नेपालबाट सवनम राईले ३ विकेट लिइन् । उनले २ ओभरमा १४ रन खर्चिइन् । कविता कुँवर, कृतिका मरासिनी, सीता रानामगर र राजमती ऐरीले १–१ विकेट लिए ।
जवाफमा नेपाल १५ ओभरमा ६३ रनमा अलआउट भयो । पूर्व कप्तान रुबिना क्षेत्रीले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७, सीताले २८ बलमा १ चौकासहित ११ र विन्दु रावलले १२ बलमा अविजित १० रन बनाए । सम्झना खड्का ४, कप्तान इन्दु बर्मा १, कविता ६, ममता चौधरी १ रनमा आउट भए ।
मध्यक्रममा पूजा महतो, कविता जोशी र काजोल श्रेष्ठ खाता नखोली आउट भए । रोमा थापा २ रनमा अविजित रहिन् । श्रीलंका महिला डेभलपमेन्ट टोलीबाट देवमी भिहान्गाले ३ ओभरमा १ मेडन राखेर ७ रन खर्चेर ३ र एम सेहानीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।
श्रीलंकामा नै हुने एसिया कप महिला टी–२० प्रतियोगिताको तयारीक्रममा कोलम्बोमा रहेको नेपालले बुधबार यही टोलीसँग दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्ने छ । नेपालले जुलाई १९ मा यूएईविरुद्ध दम्बुलामा खेलेर एसिया कपको यात्रा सुरु गर्नेछ । समूह ‘ए’ मा रहेको नेपालले जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतविरुद्ध खेल्ने छ ।