काठमाडौं,१७ असार ।
युरोकपको प्रिक्वाटरफाइनलमा आज उपाधि दाबेदार फ्रान्स र बेल्जियम आमनेसामने हुँदैछन् । यी दुई टोलीबीचको खेल राति पौने १० बजे जर्मनीको मेरकुर एरिनामा सुरु हुनेछ ।

छिमेकी देश विश्वका दुई हेभिवेट फुटबल टिम हुन्। फिफा फुटबल वरियतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्। यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेका छैनन् ।

फ्रान्सका कप्तान तथा प्रमुख स्ट्राइकर केलियन एम्बापेले एक गोल मात्र गरेका छन् । त्यो पनि पोल्यान्डविरुद्ध उनले पेनाल्टी मार्फत गोल गरेका हुन् । कतार सम्पन्न विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जित्ने एम्बापे युरो लयमा देखिएका छैनन्। यस प्रतियोगितामा फ्रान्सको अग्रपङ्क्तिमा खेल्ने शैलीलाई लिएर पनि आलोचना भइरहेको छ ।

बेल्जियम समूह चरणको अन्तिम खेलमा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएर अगाडि बढेको हो । सो खेलमा युक्रेन धेरै पटक जितको नजिक पुगेको थियो तर बेल्जियम भाग्यशाली साबित भयो । पछिल्ला दुई युरोमा दाबेदारका रूपमा पुगे पनि बेल्जियम क्वाटरफाइनलबाटै बिदा भएको थियो ।

फ्रान्स र बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनल र सन् २०२१ मा नेसन्स लिगमा आमनेसामने भएका थिए । दुवै पटक फ्रान्सले जितेको थियो । यी दुईबीच भएको पछिल्ला छ भिडन्तमा बेल्जियमले एक खेल मात्र जितेको छ । पछिल्लो युरोमा फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा हारेर अन्तिम १६ बाट बिदा भएको थियो ।

आजै राति क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले क्वाटरफाइनलमा स्थान बनाउन स्लोभेनियासँग खेल्ने छ । पोर्चुगलले सुरुका दुई खेलमा चेक गणतन्त्र र टर्कीलाई हराएर यस प्रतियोगितामा राम्रो सुरुआत गरेको थियो ।

तर, तेस्रो खेलमा पोर्चुगलले पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दियो । त्यसको फाइदा उठाउँदै नवप्रवेशी जर्जियाले पोर्चुगललाई २–० ले स्तब्ध पारेको थियो । त्यसैले स्लोभेनियाविरुद्ध खेल्दा पोर्चुगललाईसो हारको दबाब हुने छ ।

स्लोभेनिया स्वतन्त्र भएपछि ३२ वर्षमा पहिलो पटक प्रमुख प्रतियोगिताको नकआउट चरण खेल्दै छ । युरो २०००, विश्वकप २००२ र २०१० मा स्लोभेनिया समूह चरणबाटै बाहिरिएको थियो । स्लोभेनियाले यस पटक तीन बराबरीमा खेलेर उत्कृष्ट तेस्रो टिमका रूपमा नकआउट चरणमा पुगेर इतिहास बनाएको हो ।

स्लोभेनियाविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो नजरमा हुनेछन् । यसपाली रोनाल्डो अहिलेसम्म गोलविहीन छन् । फिफा विश्व वरियतामा पोर्चुगल छैटौँ र स्लोभेनिया ५७ औँ स्थानमा छ ।

यद्यपि स्लोभेनियाले पोर्चुगललाई हराइसकेको छ। गत मार्चमा भएको मैत्री खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० ले हराएको थियो । पछिल्लो एक वर्षमा स्लोभेनियाले १५ खेल खेल्दा मात्र एक खेल हारेको छ ।