रौतहट,४ असार ।
सहकारीको रकम लुटपाट गरेको आराेपमा रौतहट प्रहरीले एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्रामपञ्चायत बसवरिया-२ का २० वर्षीय मोनुकुमार जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार गत जेठ २२ गते बिहान माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई-८ का २४ वर्षीय अरविन्द कुमार दासले १७ लाख झोलामा राखेर राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न मोटरसाइकलमा चढी मौलापुरतर्फ गइरहेका थिए । सोही क्रममा विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए ।

घटनामा संलग्न अभियुक्तहरू सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरूसँग साँठगाठ रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको निस्कर्ष छ ।

असार २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ बाट घरेलु कटुवा पेस्तोल १ थान ,गोली राउन्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिइन् ।

जैसवालमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आरोपी जायसवाल भारतीय प्रहरीको समेत मोस्ट वान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जन भन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेको मोतीहारी जिल्लाका एसपी कान्तेश कुमार मिश्रले बताए ।

जैसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोबार, लुटपाट, अपहरण, अवैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ ।

गत मार्च महिनामा जैसवालले अन्य केही साथीहरूसँग मिलेर भारतीय सीमासुरक्षा बल जमुनिया क्याम्पका एक जना जवान माथि आक्रमण गरेका थिए ।

उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपालतर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ । जैसवाल केही समय अघि जेल जीवन समेत बिताइसकेको भारतीय प्रहरीले जनाएको छ ।