प्रकाश खनाल
बुटवल,४ असार ।
केही वर्षअघिसम्म पश्चिम नेपालकाे व्यापारिक केन्द्रकाे रूपमा रहेको बुटवल पछिल्लो समय शैक्षिक केन्द्रकाे रूपमा विकास हुदै गएको छ ।

बिभिन्न पेसामा संलग्न हुन र रोजगारीको अवसर बढी प्राप्त हुने अभिलाषाले विशेष गरी पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत, अर्घाखाँची आदिबाट मानिस बसाइसराई गरी यहाँ आउँथे, तर २०४० सालपछि नगरको शैक्षिक क्षेत्रमा भएको प्रगतिको फलस्वरूप अध्ययन र अध्यापन पेसाको अवसरमा उल्लेखनीय वृद्धि भएको कारणले पनि बुटवलनगर एउटा शैक्षिक केन्द्रको रूपमा परिचित छ । 

बिगतमा यहाँका निजी शिक्षण संस्थाहरूले देशमै उत्कृष्ट नतिजा दिएर बुटवलमा पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेकोमा पछिल्लो समय सामुदायिक विद्यालयहरूले पनि उत्कृष्ट नतिजा दिन थालेपछि शैक्षिक केन्द्रकाे रूपमा विकसित भएको हो ।

संघीयता कार्यान्वयनमा आएसँगै माद्यामिक तहसम्मको शिक्षा स्थानीय सरकारकाे जिम्मेवारी पर्नु र स्थानीय सरकारले शिक्षामा लगानी बढाउदै जान थालेकोले सरकारी विद्यालयकाे शैक्षिक गुणस्तर बृद्वि भएको सहजै अनुमान गर्ने सकिन्छ ।

बुटवललाई शैक्षिक केन्द्रकाे रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले शिक्षामा ३१ प्रतिशत बजेट बिनियाेजन गरिएको नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

शिक्षाको गुणस्तरीय विकास बिना समग्र विकासको औचित्य पुष्टि हुन नसक्ने भएकोले बुटवलले शिक्षामा लगानी बढाएको उनलेे बताए ।

गुणस्तरीय शिक्षा प्राप्त गर्न राजधानी काठमाडौंनै जानुपर्छ भन्ने मनाेभावनालाई चिर्न र १२ कक्षा पछि अध्ययनका लागि बिदेश जाने परिपाटीलाई राेक्न पनि अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने खालको शिक्षा प्रदान गर्न शिक्षामा लगानी बढाउनुकाे विकल्प नभएको नगर प्रमुख पाण्डेको भनाइ छ ।

त्यसका अलावा शिक्षालाई राेजगारीसँग जाेड्ने नीति अनुसार बुटवलले पढ्दै कमाउदै कार्यक्रमलाई पनि अगाडि बढाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

शिक्षामा लगानी बृदिसँगै विद्यालयकाे नियमित अनुगमन,मुल्यांकन र राम्रो गर्नेलाई पुरस्कृत गर्ने कार्यले पनि शिक्षामा बुटवलले फड्को मारेको नगर उपप्,मुख सावित्रा देवि अर्यालको भनाइ छ ।

त्यसैको फलस्वरूप पछिल्लो समय बुटवलको कालिका मानव ज्ञान, कान्ति मावि र नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा भने निजी विद्यालय छाडेर त्यँहा पढ्न चाहने विद्यार्थीहरुको संख्या धेरै ठूलो छ । यी विद्यालयहरुले सामुदायिक विद्यालयमा पनि राम्रो पढाई हुन्छ भन्ने सन्देश त दिएका नै छन् । साथै सामुदायिकविद्यालयको शैक्षिक गुणस्तर राम्रो हुँदैन भन्ने अभिभावकहरुलाई भ्रमबाट मुक्त गराएका छन् ।

बुटवल उपमहानगरपालिकाकै संरक्षकत्वमा सञ्चालित बुटवल टेक्निकल इन्स्टिच्यूट (बिटिआई) ले पनि बुटवलको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको छ ।

बुटवल उपमहानगरपालिकामा ३८ सामुदायिक विद्यालयहरु छन्, जहाँ आधुनिक विज्ञान प्रयोगशाला र पुस्तकालय जस्ता सुविधाहरु स्थापना गरिएको छ। यी सुविधाहरुले विद्यार्थीहरुको प्रायोगिक सिकाइ अनुभवलाई सुधार गर्न मद्दत पुर्याएका छन् ।

पछिल्लो समय बुटवलका सामुदायिक विद्यालयहरुको पूर्वाधार र शिक्षण गुणस्तर सुधार गर्न थुप्रै कामहरु भैरहेको छ, भने निजी विद्यालयहरुमा राष्ट्रिय परीक्षा जस्तै एसईई मा उच्च प्रदर्शन गरेका छन् ।

विक्रम सम्बत २०७८ को जनगणना यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ  जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला रहेका छन् ।