काठमाडौँ,३ असार ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच सोमबार बर्लिनस्थित राष्ट्रपति भावनमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा गएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा सोमबार द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । उनले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताए । उनले अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले त्यसैगरी विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुाध्न जर्मनीले लस एन्ड ड्यामेज फन्डमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गर्न चाहेको पनि बताए ।
द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानव अधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरुमा दुई देशबीच अन्तरराष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताएको पोखरेलले बताए । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसको लागि नेपाललाई स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताएका थिए ।