लुम्बिनी,१ असार ।
लुम्बिनी प्रदेश सरकारले विश्वलाई शान्तिको मुहानका रुपमा स्थापित गर्नका लागि लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को शनिबार लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट सार्वजनिक गर्दै शिखर सम्मेलन गर्ने बताएका हुन् । मुख्यमन्त्री जोखबहादुर महरालाइ लुम्बिनि विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध र लुम्बिनीको सन्देश विश्वव्यापी बनाउन आग्रह गरेअनुसार बजेटले सम्बोधन गरेको हो ।
“विश्वलाई शान्तिको महशुस गराउन भगवान बुद्धले निर्वाणको समयमा भन्नुभएको “जीवनकालमा लुम्बिनीमा कम्तिमा एक पटक पाइला टेक” भन्ने भनाइ सहित लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनको आयोजना गरिनेछ” बजेट वक्तव्यमा भनिएको छ ।
यस्तै सरकारले बुद्धको जीवनसँग सम्बन्धित रुपन्देही,कपिलवस्तु र नवलपरासी जिल्ला लक्षित बुद्धको जीवनदर्शन र ज्ञानलाई कार्यस्थलमा रुपान्तरण हुने गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।
लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ । यसअघि संघीय सरकारका अर्थमन्त्री बर्षमान पुनले लुम्बिनीलाई बर्थिङ हब बनाउने कार्यक्रम सहितको बजेट ल्याएके छ । नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाउन लुम्बिनीमा बर्थिङ्ग र जनकपुरलाई वेडिङ हव बनाउने घोषणा गरिएको बताइएको छ ।