पोखरा,२९ जेठ ।
मुस्ताङबाट प्रहरीले १५ बोरा शालिग्राम बरामद गरेको छ ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी घमीले १५ वटा बोरामा रहेको ३ हजार ३७९ वटा शालिग्राम बरामद गरेको हो ।

ग १ च ८१५२ र ध १ च ११५६ नम्बरको जीपमा राखेर
व्यावसायिक प्रयोजनका लागि जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा शालिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

बरामद गरेको शालिग्रामहरू आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमलाई बुझाइएको प्रहरीले जनाएको छ । एक्याप प्रमुख प्रमोदराज रेग्मीले अवैध रुपमा लुकाइ छिपाई लैजान लागिएको शालिग्राम कसको हो भन्ने अझै खुल्न नसकेको बताए ।

मुस्ताङमा यति ठूलो सङ्ख्यामा शालिग्राम बरामद भएको पहिलो पटक हो ।

अन्नपूर्ण संरक्षणको स्वामित्वमा रहेको प्राकृतिक श्रोत साधन अनुमति बिना ओसारपसार गर्न पाइँदैन । घरायसी तथा व्यक्तिगत प्रयोजनका लागि एक/दुई वटा शालिग्राम लैजान पाइए पनि व्यावसायिक प्रयोजनको लागि ओसारपसार गर्न प्रतिवन्ध छ ।