काठमाडौं,२९ जेठ ।
नेपलिज प्रिमियर लिग (एनपीएल) अस्ट्रेलियाको तेस्रो संस्करण आगामी अगष्ट ४ देखि सुरु हुने भएको छ ।
आगामी संस्करणका लागि खेलाडीहरूको लिलामी सम्पन्न भएसँगै एन पी एल को सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाली क्रिकेट एसोसिएसन अस्ट्रेलिया ९एन सी ए ए०का संयोजक अजय क्षत्रीले बताए ।
हालै सम्पन्न लिलामीमा सुवाष कुमार शाहलाई सर्वाधिक २१ सय डलरमा रुबी होम्स तिलिचो टाइटन्सले अनुबन्धित गरेको छ । त्यस्तै युवराज मल्ल र कृतन ताम्रकारलाई पिरान्हा से-फ़ोक्सुण्डो स्ट्राइकरले क्रमशः १४ सय र ११ सय डलरमा आफ्नो टोलीमा समावेश गरेको छ । अक्सनका लागि जम्मा १४१ खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका थिए ।
यसअघिका दुई संस्करण भन्दा यसपटक खेलाडीहरूको संख्या पनि धेरै रहेकाले आफूहरू तेश्रो संस्करणको सफलताका लागि आशावादी रहेको एन पी एलका व्यवस्थापन सदस्य करण श्रेष्ठले बताए ।
हरेक वर्ष आयोजना हुने एन सी ए ए कपको ग्रेड ए र ग्रेड बि बाट खेलाडीहरूको क्षमता पहिचान भए सँगै एन पी एलले उनीहरूको व्यावसायिक यात्राका लागि बाटो खोल्ने उद्देश्य राखेको श्रेष्ठको भनाइ छ ।
करिब एक दशक देखि अस्ट्रेलियामा रहेको नेपाली समुदायमा क्रिकेटको माध्यमबाट मेलमिलाप बढाउन एन सी ए ए आधिकारिक रुपमा लागि रहेको छ । यसवर्ष एन पी एल मा जम्मा चार फ़्रेञ्चाइज टोली रहेका छन् भने २५ टोलीले एन सी ए कपमा सहभागिता जनाएका थिए। एन पी एलका सबै खेलहरू सिड्नीमा हुनेछन् ।








