काठमाडौँ,२९ जेठ ।
फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपाल आव यमनसँग भिड्दैछ । नेपाल र यमनबिचको खेल नेपाली समय अनुसार आज राति २३ः४५ बजेदेखि साउदी अरबमा सुरु हुनेछ ।
नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेल्नु परेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रङ्गशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रङ्गशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।
एएफसीले सोही प्रतिवेदनका आधारमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रङ्गशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नु पर्ने जानकारी गराएको थियो ।
सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल साउदी अरबमा खेल्न लागेको हो । यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँगको खेल पनि साउदी अरबमै खेलिएको थियो । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ ।
त्यो समूहमा रहेका चारवटै राष्ट्रले पाँच–पाँच खेल खेलिसकेका छन् । पाँचवटै खेलमा विजयी भएको यूएई १५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । १० अंकसहित बहराइन दोस्रो स्थानमा रहेको छ ।
यूएई र बहराइन विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेका छन् । चार अंकसहित यमन तालिकाको तेस्रो स्थानमा आसिन छ । नेपालले भने पाँचवटै खेलमा हार भोगेको छ । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाइसकेको छ ।
नेपाली टोली यसअघि दुई खेलमा यूएईसँग क्रमशः ४–० गोल र ४–० गोलले पराजित भएको थियो । नेपाली टोलीलाई यमनले पहिलो खेलमा २–० गोलले हराएको थियो । यमनविरुद्धको दोस्रो खेल मंगलबार राति खेल्न लागिएको हो । नेपालले बहराइनसँग भने दुई खेलमा क्रमशः ५–० गोल र ३–० गोलको हार भोगेको थियो ।








