काठमाडौं,२४ जेठ ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार राति ९: ४५ बजे साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुनेछ ।

यसअघि नेपालले यूएईसँग दुई पटक खेल्दा दुवै पटक पराजित भएको छ । नेपालले पहिलोपटक सन् १९८४ मा एसियन कप छनोटमा साउदी अरेबियामै यूएईसँग खेलेको थियो । जसमा नेपाल ११-० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै जारी विश्वकप छनोटको पहिलो खेलमा पनि नेपाल यूएईसँग उसकै मैदानमा भएको खेलमा ४-० ले पराजित भएको थियो ।

विश्वकप छनोटको यात्रा सकिसकेको नेपालका लागि अब बाँकी दुई खेल एसियन कप छनोटको तेस्रो चरणको तयारीको लागि महत्वपूर्ण हुनेछ । नेपालले समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।

विश्वकप छनोटको पछिल्लो चार वटै खेलमा गोल गर्न नसकेको नेपाली टोली अहिले गोल गर्न पनि संघर्षरत देखिएको छ ।

यसपटक नेपाली टोलीमा अनुभवी खेलाडी अन्जन विष्ट चोटका कारण उपलब्ध छैनन् । उनको अनुपस्थितमा नयाँ फरवार्डहरुले जिम्मेवारी लिनुपर्ने छ ।

यस्तै कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु ऐतिहासिक कोसेढुंगा नजिक छन् । उनले नेपालका लागि अहिलेसम्म सर्वाधिक ९८ खेल खेलेका छन् । युएई विरुद्धको खेल उनको करियरको ९९ औं हुनेछ ।

दोस्रो चरणमा नेपलालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ ।

यूएई र यमन दुवैसँग मैदानमा उत्रिएमा किरण नेपालका लागि एक सयौं कप्तान जित्ने पहिलो खेलाडी हुनेछन् । जुन किरण र नेपाली फुटबलकै लागि ऐतिहासिक र दुर्लभ कीर्तिमान हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यस पटक नेपालको तयारी राम्रो भएको भन्दै राम्रो खेल प्रदर्शनको आशा राखेका छन् ।

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल दशरथ रंगशालको अवस्थाका कारण न्युट्रल भेन्युमा खेलाउन लागिएको हो ।

एएफसीले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो ।

यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ । बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्दैछ ।