बुटवल,२१ जेठ ।
छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसलाई बुद्ध अम्बेडकर जागरण मञ्च नेपालले खबरदारी सभाको रुपमा मनाएको छ ।

देशमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि अझैं दलित समुदाय माथि जातीय उत्पीडन र ज्यान मार्ने सम्मका क्रुर र अमानवीय घटना घटी रहेकाे भन्दै मञ्चले साेमबार बुटवलमा खबरदारी सभाको आयोजना गरेर दिवस मनाएको हो ।

बुद्ध अम्बेडकर जागर मञ्च नेपालका अध्यक्ष हरिओम विकेकाे सभापतित्व र नेपाल भारत दलित मैत्री समाजका अध्यक्ष ओमप्रकाश बिश्वकर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरूले जातीय विभेद तथा छुवाछूत बिरूद्व दलित समुदाय एकजुट हुनुपर्नेमा जाेड दिए ।

भगवान गौतम बुद्धले देखाएको पञ्चशिलको मार्गमा हिड्न सके जुनसकै धर्ममा रहेपनि जातीय छुवाछुत अन्त्य हुने भन्दै उनिहरूले दलित समुदाय एकजुट भएर संघर्ष नगरेसम्म छुवाछूत अन्त्य हुन नसक्ने धारणा राखे ।

बुद्ध अम्बेडकर जागर मञ्च नेपालका अध्यक्ष हरिओम विकेले
नेपालमा पछिल्लो समय दलित आन्दोलन तहसनहस भएको भन्दै कांग्रेस,कम्युनिस्ट र जनयुद्धबाट पनि जातीय छुवाछुत अन्त्य नभएकाले त्यस बिरूद्व समाजमा जागरण ल्याउन बुद्ध अम्बेडकर जागर मञ्च नेपालको स्थापना गरिएको बताए ।

जातीय छुवाछुत अन्त्य गर्नको लागि डा. भीमराव अम्बेडकको बैचारिक बादलाई अघि सारेको भन्दै अध्यक्ष बिकेले अम्बेडकरको जात बिहिन समाजको परिकल्पनाबाट नै जातीय छुवाछुतको अन्त्य हुने बिश्वास ब्यक्त गरे ।

दिवसलार्ई औपचारिक कर्मकाण्डी रुपमा मात्र नमनाएर खबरदारी सभाको आयोजना गरी मनाइएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष गिता सारू,बाैद्व सेवा समाजका अध्यक्ष शंकर गाहा,राष्ट्रिय बाैद्व महासंघ नेपालका अध्यक्ष मनाेज जैगडी,बिश्व बाैद्व परिषद् नेपालका अध्यक्ष बालचन्द बाैद्व,मञ्चका उपाध्यक्ष लाेकबहादुर परियार,अभियन्ता रामु परियारलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

यसअघि मिलनचोकबाट निस्किएको जातीय छुवाछुत विरुद्धको र्याली बसपार्क,हस्पिटल लाईन हुँदै मेरिगोल्ड होटेलमा पुगेर खबरदारी सभामा परिणत भएको महासचिव फणिन्द्र नेपालीले जानकारी दिए । ।