बुटवल,२१ जेठ ।
श्रीनगर एग्रो ईण्डष्ट्रिजले पशुपालक किसानलाई पशुको स्वामस्थ्य तथा पोषण व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार बुटवलमा आयोजना गरिएको एक दिने कार्यक्रममा लुम्बिनी सहित बागमती र मधेश प्रदेशका ५५ जना किसानलाई विशेष गरेर दुध दिने पशु (गाई भैसी)को पोषण, दाना र पशुको स्वास्थ्य व्यवस्थापन सम्बन्धि प्रशिक्षण गरिएको हो ।

कार्यक्रममा श्रीनगर एग्रोले सहकार्य गरेका कृषि तथा दुग्ध सहकारी संस्थाका अध्यक्ष, प्रवन्धक र कृषि प्राविधिक सहभागि थिए । त्यसै अवसरमा श्रीनगर एग्रिटेकको नयाँ उत्पादन ‘सुनौलो गोल्ड’ गाईभैसीको दाना लञ्च गरिएको छ ।

पोषण तथा दाना व्यवस्थापनका सम्बन्धमा किसानले भोगिरहेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ र किसानले बढी भन्दा बढी लाभ कसरी लिन सक्छन् भन्ने उद्देश्यले आयोजना गरिएको तालिममा पोषण विद डा. सुनिल यादव, पशु रोग तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ अशोक यादव,डिप्राेडक्शन बिशेषज्ञ डा गिरिराज खनालले प्रशिक्षण दिएका थिए ।

पशुपालनका क्षेत्रमा भारतमा विज्ञता प्रदर्शन गरिरहेका पोषण विद डा. सुनिल यादव र पशु रोग तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ अशोक यादवलाई ल्याएर नेपाली किसानलाई प्रशिक्षण गरिएको हो । त्यस्तै कम्पनीका नेशनल शेल्स म्यानेजर डा. गिरीराज खनालले प्रशिक्षणमा समन्वय गरेका थिए ।

कार्यक्रममा बोल्दै श्रीनगर एग्रिटेक इण्डष्ट्रिजका अध्यक्ष सतिशचन्द्र श्रेष्ठले आफूले पालन गरेको पशुको पोषण तथा दाना व्यवस्थापनमा किसानलाई ज्ञान नहुँदा त्यसबाट प्रयाप्त लाभ लिन नसकेको महशुस गरेर कार्यक्रम आयोजना गरिएको जानकारी गराए । उनले पशुको आहार विहार र उसको स्वास्थ्यका कारण पनि किसानले प्रयाप्त लाभ लिन नसकिरहेको अवस्थामा किसानलाई यो तालिम लाभदायी हुने पनि विश्वास व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि सहकारी संघका नरबहादुर घर्तीले किसान आफूले पालन गरेका पशुको आहार विहारको व्यवस्थापन तथा पशुमा हुने रोग तथा स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायि रहेको बताए । उनले किसानलाई सरकारले दिनुपर्ने तालिम एउटा निजी उद्योगले प्रदान गरेकामा धन्यवाद दिँदै आफूले सिकेका कुरा छरछिमेकमा अरु किसानलाई पनि सिकाउन आग्रह गरे ।

त्यस अवसरमा श्रीनगर एग्रिटेक इण्डष्ट्रिजकी निर्देशक मौषमी श्रेष्ठले कम्पनीको बारेमा जानकारी गराएका थिए ।

विगत लामो समयदेखि पोल्टीको क्षेत्रमा काम गर्दै आएको यो कम्पनीले किसानसंग साझेदारी कार्यक्रम समेत सञ्चालन गरेको छ । किसानसंग साझेदारी कार्यक्रम अन्तरगत ७ हजार किसानलाई उत्पादन र बजारीकरणमा सेवा पु¥याउने लक्ष्य लिएको छ ।