बुटवल,२१ जेठ ।
२०८० को एसइई परीक्षामा रुपन्देही जिल्लाका ५८ वटा परीक्षा केन्द्रहरूमध्ये बुटवलको नवीन औद्योगिक कदर बहादुर रिता मावि देवीनगरका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत उत्कृष्ट केन्द्राध्यक्षकाे रूपमा पुरस्कृत भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीले आइतबार भैरहवामा एक कार्यक्रमका विच प्रधानाध्यापक बस्नेतलाई पुरस्कृत गरेको हो ।
उनलाई जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, जिल्ला परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले नगद तथा प्रमाणपत्रले सम्मान गरेका हुन् ।
बुटवलको नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा एसइई २०७९ मा सबैभन्दा ठुलो परीक्षा केन्द्र जसमा ९३१ जनाले परीक्षा सहभागिता रहेको थियो ।
विद्यालयले परीक्षा केन्द्रलाई थप व्यवस्थित गर्न नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय र लुम्बिनी वाणिज्य क्याम्पसको ३ बिघाको संयुक्त खेलमैदानमा छुट्टाछुट्टै पिलर गाडेर पहिचान सहित छात्र छात्राको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो ।
यस्तै परीक्षाको बेलामा विद्यालयले विद्यार्थीहरू तथा सरोकारवालाहरूलाई परीक्षाको समग्र विवरण सहित सुसूचित गर्न योजनाबद्ध नक्साङ्कन सार्वजनिक गरी विद्यार्थीहरूलाई प्रवेश गराउने छात्रछात्राहरूले झोला तथा सामग्री राख्ने छुट्टै पहिचान सहित राख्ने व्यवस्था छात्र र छात्राको छुट्टाछुट्टै प्रवेश पत्र र परीक्षा निषेधित सामग्री जाँच गर्ने छुट्टाछुट्टै स्थान व्यवस्था पहिलो दिन व्यवस्थित परीक्षाको लागि विद्यार्थी आचार संहिता सम्बन्धी संक्षिप्त अभिमुखीकरण गरी विद्यार्थीहरूलाई भवनमा प्रवेश गर्दा भिडभाड नहुने गरी व्यवस्थापन गर्न आवतजावतका लागि छुट्टाछुट्टै सिडीको ब्यवस्था, अस्थायी शौचालय, औषधीसहित स्टाफ नर्सको व्यवस्था, विद्यार्थीहरूलाई सहजीकरण गर्न हेल्प डेस्कको व्यवस्था गरेको बताइएको छ ।
त्यस्तै जेनरेटरको व्यवस्था, प्रत्येक दिन परीक्षाको समीक्षा बैठक, विद्यार्थी मैत्री फर्निचरको व्यवस्था, परीक्षा सकिने बेलामा बढी भिडभाडमा उत्तर पुस्तिका हराउन सक्ने सम्भावना हुने भएकोले परीक्षा सकिन अन्तिम ५ मिनेट म्यासेजमा गेट सिल गर्ने लगायतका असल अभ्यासहरू गरेको विद्यालयले जनाएको छ ।
सामुदायिकतर्फ विद्यार्थी संख्याका आधारमा साे विद्यालय नेपालमै पाँचौँ स्थानमा रहेको छ ।
जहा ४६८१ विद्यार्थी अध्ययनरत रहेका छन् ।
विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अङ्ग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापनमा होटेल व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ ।
कार्यक्रमा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले एसइईको परीक्षा केन्द्र निर्धारण गर्दा भौतिक पूर्वाधारमा कमजोर भएका विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गर्न नहुने र विद्यालयहरुले आगामी दिनमा परीक्षालाई थप सुधार तथा व्यवस्थित गर्न निर्देशन दिए ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एसइइ परीक्षामा उत्कृष्ट केन्द्राध्यक्षलाई पुरस्कृत गर्ने र समसामयिक शैक्षिक सवालहरू, परीक्षा र मूल्याङ्कन प्रणालीसुदृढीकरणगर्दे रुपन्देहीको शिक्षा सुधारमा थप टेवा दिनुपर्ने बताए ।








