पाल्पा,१९ जेठ ।
पाल्पाको तानसेन स्थित युनाइेड मिसन अस्पतालमा सुत्केरीको मृत्यू भएपछि आफन्तद्वारा आन्दोलन गरेका छन् ।
जिल्लाको माथागढी गाउँपालिका वडा नं १ चिदीपानी निवासी एक महिलाको १७ गते प्रसुति गराउन अस्पतालमा भर्ना गरिएको थियो । प्रसुती उपचारको क्रममा आमा र बच्चा दुवैको शुक्रवार मृत्यु भएको अस्पतालले जनाएको छ ।
विरामीको आफन्तले अस्पतालकाे लापरवाही गरेकाले सुत्केरी महिला र बच्चा दुवैको ज्यान गएको बताएका छन् । विरामीका आफन्तहरुले भने १८ गते साँझ र आज विहानदेखि नै अस्पताल घेराउ गरेका छन् । पीडितले न्याय पाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै उनिहरूले अस्पताल घेराउ गरेका हुन् ।
अस्पतालमा भर्ना भएदेखि बारम्बार अप्रेसन गरेर बच्चा निकाल्न आग्रह गरेको अवस्थामा डाक्टरले नमानेर घर खुल्दैछ, विरामीको अवस्था सामान्य नै छ भनेर राखेको र पछि एक्कासी समस्या आयो भनेर भ्याकुम प्रयोग गर्दा सुत्केरीको मृत्यु भएको पीडितहरुकाे आरोप छ ।
अस्पताल र पीडित पक्षबीचमा पटक पटक वार्ता भएता पनि अस्पतालले पीडितको मागमा कुनै सुनुवाई नगरेकाले स्थानीय जनताहरु आक्रोसित भएर अस्पताल घेराउ गरेको स्थानीय तथा जनप्रतिनिधि राजकुमार पन्थीले बताए ।
अस्पतालका प्रमुख रचेल कारखले भने अस्पतालले गर्नुपर्ने सबै प्रक्रिया पुर्याएको तर विरामीको अप्रत्यासित रुपमा मृत्यु भएको प्रतिक्रिया दिइन् । यस्तो घटना विरलै हुने गरेकोमा आफूहरु पनि दुखित भएको उनको भनाइ छ ।