बुटवल,१७ जेठ ।
सिमावर्ती भारतको महाराजगञ्ज जिल्लामा हुने लोकसभा निर्वाचनका लागि लक्षित गरेर बन्द भएको बेलहिया/सुनौली नाका बिहीवार मध्यान्हपछि खुलेकाे छ ।
रुपन्देहीसंग जोडिएको भारतको महाराजगञ्ज जिल्लामा आउँदो जेठ १९ गते (१ जुन) का दिन लोकसभा निर्वाचन हुँदैछ । सो निर्वाचनमा खुल्ला सिमानाका कारण कुनैपनि अवाञ्छित गतिविधि हुन नदिन भन्दै प्रशासनले ७२ घण्टाका लागि बुधवार राति १२ बजे सिमानाका सिल (बन्द) गरेको थियो ।
नाका बन्द गरिएसंगै पैदल आवागमन र सम्पुर्ण गाडीको आवत जावतमा रोक लगाइएको थियो । बेलहिया/सुनौली सिमानाका हुँदै एक अर्का देशमा आवत जावत गर्ने सर्वसाधारण यात्रु, पर्यटक, विद्यार्थी, बिरामी, किनमेल गर्न जाने उपभोक्ता लगायतका यात्रुको भीड दुवै देशतर्फ अत्यधिक भएपछि बिहीवार मध्यान्ह १२: ३० बजेदेखि सिमानाका खोलिएको हो ।
यात्रुको अत्यधिक भिडका कारण तत्कालका लागि सिमानाका खोलेर पुर्ववत् अवस्थामैं राखिएपनि सुरक्षा निगरानी उच्च अवस्थामा राखिएको सिमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक कृष्ण प्रसाद बिष्टले बताए ।
नाका खुलेसँगै सर्वसाधारणको आवगमन सहज र सुचारु भएको प्रहरीले जनाएको छ ।
भरतको लोकसभा निर्वाचनका बेला बेलहिया/सुनौली सिमानाका बन्द गर्नकालागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि गत जेठ ९ गते सुचना जारी गरेको थियो । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार मध्यान्हदेखि सिमानाका खुलेपछि रोकिएको भारत नेपाल बीच हुने आयात निर्यात पनि पुर्ववत अवस्थामैं सुचारु भएको छ ।
सिमानाका खोलेर आवागमन सुचारु बनाउन भारतीय सुरक्षा अधिकारीले नै पहल गरेकाे बताइएको छ ।






