परासी,१६ जेठ ।
आज रातिदेखि पश्चिम नवलपरासीको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गर्दै जेठ १६ गते आज राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म उत्तर प्रदेशसँग जोडिएको जिल्लाको सबै नाका बन्द रहने जनाएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उत्तर प्रदेशमा हुन लागेको लोकसभा जनरल इलेक्सन २०२४ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको बताए । निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारततर्फका सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । यसअघि जेठ १० गतेदेखि जेठ १२ गतेसम्म बिहारमा चुनाव भएकाले जिल्लाका सबै नाका बन्द गरिएको थियो । पश्चिम नवलपरासी भारतको बिहार र उत्तर प्रदेश दुवै राज्यसँग सीमा जोडिएको छ ।