बाँके,१४ जेठ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क विवरण पेश नगर्ने संस्थागत विद्यालयलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

संस्थागत विद्यालयलाई तत्काल शुल्क विवरण पेश गर्न निर्देशन दिँदै उपमहानगरले विवरण बुझाउन अटेरी गरेमा ५० हजार रुपैयाँ जरिवाना तिराइने जनाएको छ ।

उपमहानगरले यसअघि नै नगर क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयको वर्गीकरण गर्दै शैक्षिक सत्र २०८१ मा ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले लिन पाउने आधारभूत र माध्यमिक तहसम्मको अधिकतम शुल्क निर्धारण गरिदिएको थियो । निर्धारित शुल्कमा नबढाई कक्षागत रुपमा मासिक शुल्क फरक हुने गरी शुल्क निर्धारण गर्नुपर्ने र सोको विवरण विद्यालयको सूचना पाटीमा टाँस्नुपर्ने उपमहानगरको निर्देशन छ ।

विद्यालयद्वारा निर्धारित शुल्कसम्बन्धी विवरण जेठ २० गतेभित्र शिक्षा, युवा तथा खेलकुद महाशाखामा उपलब्ध गराउन अनुरोध गर्दै उपमहानगरले भनेको छ, ‘विवरण पेश गर्ने विद्यालयहरुलाई ५० हजार जरिवाना गर्ने भनी नगर शिक्षा समितिले निर्णय गरेको हुँदा सोहीबमोजिम कारबाही हुने जानकारी गराइन्छ ।’