वीरगञ्ज,१३ जेठ ।
राष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार तयार पारेको छ ।
तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनाकाे अबधिमा केन्द्रले १० किसिमका कृषि औजार तयार पारेको हो ।
हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले जानकारी दिए ।
पहिलो चरणमा धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएकाे उनले बताए ।
तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको इन्जिनियर साहले यी उपकरण कृषकका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
यी औजार तथा उपकरणको मूल्य भने निर्धारण भइनसकेको उनले बताए ।
केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने केन्द्रले जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत रहेका छन् ।






