बुटवल,१२ जेठ ।
नेपाल बार एशोसियशनले राष्ट्रिय सम्मेलनबाट पारित गरेको न्यायपालिका सुधार योजना कार्यान्वयमा जोड दिईएको छ ।

न्यायापालिकाको पुनःसंरचनाबारे अध्ययन गरेर कार्यदलले दिएको प्रतिवेदनको आधारमा नेपाल बारे एशोसियशनको राष्ट्रिय सम्मेलनले पारित गरेको न्यायपालिका सुधार योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिईएको हो ।

उच्च अदालत बार एशोसिएशन बुटवलको नवनिर्वाचित पदाधिकारी सदस्यहरुको पदस्थापन कार्यक्रममा बोल्ने कानुन व्यवसायीहरुले उक्त सुधार योजना कार्यान्वयनमा जोड दिएका हुन् । नेपाल बारको राष्ट्रिय सम्मेलनले संवैधानिक परिषदबाट प्रधानन्यायाधिशको भूमिका अलग गर्नुपर्ने, प्रधानन्यायधिश नियुक्तिमा हुने संसदीय सुनुवाईको व्यवस्था हटाउनु पर्ने लगायतको सुधार योजना पारित गरेको थियो ।

कार्यक्रममा बोल्दै उच्च अदालत बुटवल इजलासका मुख्य न्यायाधिश राजेश्वर तिवारीले बार र बेच्चको सुमधुर सम्वन्धले न्यायिक निरुपणको कामलाई पनि प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे । उनले बारको उपस्थिती बिच वेच्चको काम कारवाही पनि प्रभावित हुने भएकाले बार र बेच्नको सम्वन्ध सुमधुर बनाउन दुवै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरे । कुनै समस्या आएमा बसेर छलफल गरी निकास निकाल्न आफू तयार रहेको बताउँदै भन्नुभयो–‘हामी एउटै नाउमा छौं, नाउमा प्वास पर्यो र पानी पस्यो भने सबै डुब्छौं ।’

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष अधिवेक्ता पशुपती भण्डारीले नेपाल बारको राष्ट्रिय सम्मेलनले पारित गरेको सुधार योजना कार्यान्वयन गर्ने काममा लाग्न नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई आग्रह गरे । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल बारेले गरेको विरोध पक्राउ गर्नुहुँदैन भन्ने नभई पक्राउ गर्ने तौरतरिका, स्थानका विषमा मात्रै भएको प्रष्टिकरण दिए ।

त्यस अवसरमा उच्च अदालत बार एशोसिएशन बुटवलका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद मरासिनीले प्रतिवद्धता सहित योजना प्रस्तुत गरेका थिए । त्यस अवसरमा उच्च अदालत बार एशोसिएशन बुटवलका पुर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ता नेत्रबहादुर नेपाल, वरिष्ठ अधिवक्ता हरिप्रसाद पाण्डेय, वरिष्ठ अधिवक्ता निर्वाचत समितिका संयोजक शालिकराम वञ्जाडे, गोकर्णसिंह थापा, पूर्वअध्यक्ष एवं नेपाल कानुन व्यवसायी परिषदका अधिवक्ता बाबुराम पाण्डे, नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष घनश्याम पन्त, उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता ऋषिकेश बस्याल, रुपन्देही जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता शिवहरि अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम उच्च अदालत बार एशोसिएशनका निवर्तमान अध्यक्ष कैलाशचन्द्र ज्ञवालीको अध्यक्षता तथा सचिव नागेन्द्रप्रसाद यादवको सञ्चालनमा भएको थियो ।