बुटवल,१२ जेठ ।
रूपन्देहीका दुई छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुटवल र तिलोत्तमामा गएराति भएकाे मोटरसाइकल दुर्घटनामा दुई जना युवाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ का डुम्रेले चलाएको लु३१प १६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा सैनामैना नगरपालिका–४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ । प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल पनि शुक्रबार राति साढे १० बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा राति पौने १ बजे मृत्यृ भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।