नवलपरासी,११ जेठ ।
नवलपरासीकाे बर्दघाटका साना तथा स्वरोजगारमुलक श्रमिक तथा ब्यवसायीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
बर्दघाट नगरपालिका वडा नम्बर –४ ले ब्यवसाय संचालन गरेकाे स्थानबाट हटाउने अल्टिमेटम दिएपछि स्वरोजगारमुलक श्रमिक तथा ब्यवसायीहरु संगठित भएर आन्दोलनको चेतावनी दिएका हुन् ।
आन्दोलनकै रुपमा प्रेम बहादुर पोखरेलको नेतृत्वमा संर्घष समिति बनाएका स्वरोजगारमुलक श्रमिक तथा ब्यवसायीले आफूहरुलाई ब्यवसाय गरेको स्थानबाट नहटाउन माग गरे ।
संर्घष समितिले शुक्रवार बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै आफूहरुलाई विना बिकल्प हटाए त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिए ।
उनीहरुले स्थानीय सरकारले आफूहरुबाट कर लिएको र राज्य नागरिकको अभिभावक भएको हुदाँ आफूहरुलाई विना विकल्प ब्यवसाय संचालन गरेको स्थानबाट हटाउन नमिल्ने अडान लिएका छन् ।
बर्दघाटको टिसिएन र बसपार्क क्षेत्रमा ब्यवसाय संचालन गरेर जिविकोपार्जन गर्दै आएका करिब ३० जना बढी स्वरोजगारमुलक श्रमिक तथा ब्यवसायीहरुले बिकल्प विना ब्यवसाय गरेको स्थानबाट नहटाउन माग गर्दै संर्घष थालेको संर्घष समितिका अध्यक्ष पोखरेलले जानकारी दिए ।
बर्षाै देखि बसपार्क र आसपासका क्षेत्रमा ब्यवसाय गर्दै आएका हामीहरुलाई हटाउने सुचना दिएर वडा कार्यालयले आंतकित पारेको छ – अध्यक्ष पोखरेलले भने – “राज्यले विकल्प विना हटाउन मिल्दैन । हाम्रो रोजिरोटी खोस्न पनि मिल्दैन । राज्य अभिभावक बन्नुपर्छ । गम्भिर बन्नुपर्छ ।”
उनले आफुहरु विकास बिरोधी नभएको बताउदै स्थानीय सरकारले ब्यवसाय संचालन गर्ने स्थान तोकेर ब्यवस्थापन गर्नुपर्ने बताए ।
स्वरोजगारमुलक श्रमिक तथा ब्यवसायीहरुले २५ सदस्सीय संर्घष समिति गठन गरेर आफ्ना संर्घषका कार्यक्रम तय गरेको उपाध्यक्ष यम बहादुर घिमिरेले जानकारी दिए । उनका अनुसार समितिको दुई उपाध्यक्ष र दुई सहसचिवको समेत ब्यवस्था गरिएको छ । जसमा अर्काे उपाध्यक्ष जमुना सुबेदी , सचिव पुर्ण पोखरेल सहसचिवद्वयमा राम प्रसाद अर्गेजा र गीता तिवारी र कोषाध्यक्षमा राधाकृष्ण न्यौपाने रहेका छन् ।
संर्घष समितिका सचिव पुर्ण पोखरेलले वाचन गरेको ज्ञापनपत्र अध्यक्ष पोखरेल सहितका टोलीले नगर प्रमुखलाई बुझाएकाे थियो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले नगरको सौन्र्दयकरणको लागि आफूहरुले सडक ब्यवसायलाई ब्यवस्थित गर्न लागेको बताउदैं विस्तारै सबैलाई बिकल्प दिएर ब्यवस्थापन गर्ने प्रतिवद्वता ब्यक्त गरे ।






