लुम्बिनी,१० जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यको रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् ।
२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन÷अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् ।
उनले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको बताए । उनले नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिए ।
बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय भएको बताउदै उहाँले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवद्र्धननमा उच्च सफलता हासिल गर्ने सम्भावना रहेको उल्लेख गरे । उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए । प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा छिट्टैनै तेश्रो शिखर सम्मेलनको आयोजना गर्ने समेत बताए ।
बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको बताए ।
मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको जानकारी गराए ।
बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत् उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उहाँले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।
नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने बताए ।
लुम्बिनीको मायादेवी मन्दिर परिसर भित्र बिहान ६ बजेदेखि नै महायानी , बज्रयानी र थेरबादी गुरु, भिक्षुहरु , भुक्षणी ,आनीहरुबाट धार्मिक पुजाआजा र संघ दान गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारक्याल लामाले जानकारी दिए ।
यस्तै लुम्बिनीको ५ नम्बर गेटदेखि मायादेवी मन्दिर, केन्द्रिय नहर हुँदै कार्यक्रम स्थल अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसम्म शान्ति र्यालीसहितको झाँकी प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ , संयुक्त राष्ट्रसंघका आवशिय संयोजक हान्ना सिंगर ,श्रीलंका , थाईल्याण्ड,भारतका राजदूत, बिमस्टेकका महासचिब र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराज लगायतले लुम्बिनीको महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।






