धनुषा,९ जेठ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ ।
उनलाई धनुषा प्रहरीले केही बेर अघि जिल्ला अदालत धनुषामा पेस गरेको हो । आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ ।
मङ्गलबार काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो ।
अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद गप गर्ने वा तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ ।
सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले मङ्गलबार पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सिरोहियाले लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो ।






