काठमाडौं,९ जेठ ।
कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनल प्रवेश गरेको हो ।

हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताका कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन, ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे ।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले तीन, वरुण चक्रवर्तीले दुई विकेट, वैभव अरोरा, हर्षित राना,आन्द्रे रसेल र सुनिल नरिनले एक/एक विकेट लिए ।

पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल आज हुँदैछ भने क्वालिफायर शुक्रबार हुँदैछ ।

आईपीएलको फाइनल खेल आइतबार हुनेछ ।