बुटवल,७ जेठ ।
मञ्जुश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम फिर्ता माग्दै बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् ।

भैरहवामा केन्द्रीय कार्यालय रहेको सहकारीले तरलता अभावका कारण जनाउँदै आइतबार बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । साेमबार करिब २०० वचतकर्ताहरूले बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउ गरेका थिए ।

सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै सम्पर्कमा नभएको वचतकर्ताहरूले बताएका छन् ।

यसअघि पनि वचत रकम फिर्ता माग्दा नपाएकाे वचतकर्ताकाे गुनासो छ । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् ।

सहकारीका अध्यक्ष खिमराज भण्डारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम २ करोड र कर्जा असुल गर्नुपर्ने ३ करोड रुपैयाँ रहेको बताए । कर्जा असुली प्रक्रियामा रहेकाले केही समय बुटवल शाखा बन्द गर्नुपरेको उनको भनाइ छ ।

कोरोना महमारीपछि आर्थिक क्षेत्रमा परेको असरका कारण लगानी गरिएको कर्जा समयमा असुली नहुँदा तरलता अभाव बढ्दै गएको र कतिपय सदस्यले बचत गरेको रकम अवधि नपुग्दै माग गरेकाले फिर्ता दिंदा तरलता अभाव झनै बढेको उनले बताए ।

वचतकर्ताले शाखा कार्यालय र अध्यक्ष भण्डारीलाई घेराउ गरेपछि दुबै पक्षलाई राखेर छलफल गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।