बुटवल,६ जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले आज बिहान बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट मर्निङ वाकमा हिडेका अन्य दुईजना महिला घाइते भएका छन् ।

एम्बुलेसको ठक्करबाट गम्भीर घाइते भएकी कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।