काठमाण्डौ,५ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि बेंगलुरुमा शुरु हुनेछ । चेन्नई १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो र बेंगलुरु समान १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा रहेकाे छ ।
प्लेअफमा पुग्न दुवै टोलीका लागि यो खेल जित्नैपर्ने अवस्था छ । आजकाे खेल चेन्नईले जिते १६ अङ्क हुनेछ । लिग चरणको अन्तिम खेलअघि बेंगलुरुलाई शीर्ष ४ मा पुग्न ठुलो जित आवश्यक छ । उसले चेन्नईलाई १८ रन वा ११ बल अगावै जित्नुपर्ने दबाब छ । हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हराएकाे थियो । मुम्बईलाई हराए पनि लखनउ प्लेअफमा पुग्न सकेन ।








