दाङ,३ जेठ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक बजेटकाे ब्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुनले ‘कोरोनाको महामारीमा प्रदेश सरकारको कोरोना विशेष अस्पतालका रुपमा रहेको शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेटको प्रबन्ध गर्ने बताए ।

दाङलाई आयुर्वेद चिकित्सा शास्त्र अध्ययनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउँदै मन्त्री पुनले प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।

नेपाल संस्कृत विश्वविद्यालयले बेलझुण्डीमा आयुर्वेद चिकित्सा शास्त्र अध्ययनको थालनी गरेर मुलुकलाई आवश्यक जनशक्ति उत्पादन गरिरहेको उनलेे बताए ।

यसलाई अवसरका रुपमा लिनुपर्ने भन्दै मन्त्री पुनले भने- ‘दाङलाई आयुर्वेद चिकित्सा शास्त्र अध्ययनको केन्द्रका रुपमा विकास गर्नुपर्दछ । यसका लागि प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्छ ।’

बेलझुण्डीमा २ सय बेडको एकीकृत अस्पताल बनाउने सरकारले मुख्य योजना रहेको भन्दै मन्त्री पुनले पूर्ववर्ती सरकारको उक्त योजनालाई पुन: सञ्चालनमा ल्याउने भन्दै मन्त्री पुनले राजनीतिक सहमति कायम गर्नतर्फ विश्वविद्यालय लाग्नुपर्ने बताए । बजेटको आकार घटिरहेको संकेत गर्दै मन्त्री पुनले अस्पताल सञ्चालनका लागि तत्काल न्यूनतम बजेटको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।

उक्त अवसरमा उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयका उपलब्धीको विषयमा मन्त्री पुनलाई जानकारी गराए । संघीय सरकारको पहिलो प्राथमिकताको आयोजनाका रुपमा रहेको २ सय बेडको एकीकृत अस्पताल निर्माणको योजनालाई अलपत्र पारिएकोमा दु:ख व्यक्त गर्दै उपकुलपति लामिछानेले उक्त योजनालाई अगाडि बढाइदिन आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद चिकित्सा शास्त्र अध्यापन गराइरहेको बताउँदै उपकुलपति लामिछानेले संस्कृत विश्वविद्यालयको आयुर्वेद चिकित्सा शास्त्र नमुना र स्तरिय भएको दाबी गरे ।

चिकित्सा शिक्षा आयोगले आयुर्वेद चिकित्सा शास्त्र अध्यापनका लागि १ सय बेडको शिक्षण अस्पताल सञ्चालन अनिवार्य गरेको बताउँदै उपकुलपति लामिछानेले प्राविधिक र आर्थिक दुवै कारणले शिक्षण अस्पताल सञ्चालन गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले प्रायोगीक विषयका रुपमा रहेका योग विज्ञान, आयुर्वेदमा सरकारले लगानी बढाउनुपर्ने बताए । कुलसचिव प्रा. माधव अधिकारीले आयुर्वेद चिकित्सा शास्त्र स्थापना र सञ्चालनमा आइपरेका कठिनाइका बारेमा मन्त्री पुनलाई जानकारी गराएका थिए ।

राप्ती प्रादेशीक अस्पताल तुलसीपुर व्यवस्थापन समितिका अध्यक्ष पदम न्यौपानेले आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रादेशीक अस्पतालले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विश्वविद्यालयका उपप्रशासक विनयकुमार पोख्रेलले कोरोना अस्पताल सञ्चालनका लागि प्रदेश सरकारलाई विश्वविद्यालय भवन र जनशक्ति उपलब्ध गराएर सहयोग गरेको स्मरण गराउँदै उही कोभिड अस्पताल सञ्चालन गर्दा प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार आयुर्वेद शिक्षण अस्पताल र एकीकृत अस्पताल सञ्चालनमा नीतिगत र आर्थिक दुवै सहयोग उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका डीन, केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य, महाशाखा प्रमुख, शाखा प्रमुखहरुको सहभागीता रहेको मन्त्रालयले जनाएको छ ।